मेन्टरिङ कार्यक्रम सहयोगी सामग्रीहरु । Teacher Mentoring ।
राष्ट्रिय शिक्षा नीति, २०७६ ले अङ्गिकार गरेको शिक्षकको निरन्तर पेसागत विकासको अवधारणा तथा गुणस्तरीय विद्यालय शिक्षाको लागि क्षेत्रगत अवधारणा अन्तरगत कार्यान्वयनमा ल्याइएको विद्यालय शिक्षा क्षेत्र योजना (२०२२/०२३-२०३१/०३२) का उद्देश्य प्राप्तिको लागि विद्यालय तहको शिक्षण पेसामा नवप्रवेशी शिक्षकलाई विषयसम्बद्ध आधारभूत शैक्षणिक सिपहरू हासिल गराई कक्षाकोठाको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन तथा विद्यार्थी सिकाइ उपलब्धि अभिवृद्धि गर्न शिक्षक मेन्टरिङ कार्यान्वयनलाई सान्दर्भिक, वस्तुनिष्ठ, प्रभावकारी र विश्वसनीय बनाउन वाञ्छनीय भएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो शिक्षक मेन्टरिङ कार्यान्वयन कार्यविधि, २०८० तयार पारी कार्यान्वयनमा ल्याएको छ ।
मेन्टरिङ प्रक्रिया :
(१) शिक्षक मेन्टरिङका लागि देहायबमोजिमको प्रक्रिया अवलम्बन गर्नुपर्ने छ :
- (क) मेन्टरले नवप्रवेशी वा मेन्टी शिक्षकसँग सुरुवाती बैठक सञ्चालन गरी मेन्टरिङ सञ्चालनको कार्ययोजना निर्माण गर्नुपर्ने छ।
- (ख) मेन्टरले प्रधानाध्यापक, शिक्षक अभिभावक संघ वा विद्यालय व्यवस्थापनसँग आवश्यकताअनुसारको समन्वय गरी सहकार्यात्मक र सहयोगी वातावरणमा मेन्टरिङ कार्यक्रम कार्यान्वयन गर्ने वातावरणको सिर्जना गर्नुपर्ने छ।
- (ग) नवप्रवेशी शिक्षकले मेन्टरिङको प्रक्रियामा आफ्नो शिक्षण प्रक्रियालाई आवश्यकताअनुसार थप परिस्कृत गर्दै समायोजनको प्रयत्न गर्नुपर्ने छ।
- (घ) नवप्रवेशी शिक्षकले आफ्ना वरपरका विद्यालयमा रहेका अन्य नवप्रवेशी शिक्षकहरूसँग सिकाइ सञ्जालको निर्माण गरी निरन्तर सिक्ने र सिकाउने संस्कारको विकास गर्नुपर्ने छ।
















































