नेपालमा पाइने वनस्पती
कुनै ठाउँको भूधरातल, हावापानी, माटो आदिले त्यस स्थानको वनस्पतिलाई प्रभावित गर्दछन् । हावापानीले वनस्पतिलाई प्रभावित गर्ने हुँदा यी दुईबीच अन्योन्याश्रित सम्बन्ध रहेको छ । नेपालको वातावरणीय संरक्षण र सन्तुलनमा वन सम्पदाको महत्वपूर्ण स्थान छ । सन् १९५४ को तथ्याङ्कअनुसार दे शको ४५ प्रतिशतभन्दा बढी भूभाग वनजङ्गलले ढाकेको थियो तर सन् १९७९ तिर ४३ प्रतिशत, सन् १९८६ मा ३७.४ प्रतिशत र सन् १९९८ मा गरिएको एक सर्वेक्षणले वन क्षेत्र केवल ३९.६ प्रतिशत रहेकोमा सन् २०१४ को वन सर्वेक्षणले वन क्षेत्र ४४.७४ प्रतिशत पुगेको तथ्य देखाएको छ । विगतमा आवास तथा पुनर्वासका लागि धेरै ठाउँमा वन फँडानी गरियो भने कतिपय क्षेत्रमा वनको अतिक्रमण भयो ।
नेपालको भूधरातल तथा वनजङ्गलको विविधताका आधारमा नेपालको वनस्पति जगत्लाई निम्नलिखित पाँच समूहमा वर्गीकरण गर्न सकिन्छ
(क) उष्णप्रदे शीय सदाबहार जङ्गल -तराई, भाबर, दुन, चुरे पर्वतको १,२०० मिटरसम्मको उचाइमा पाइने उष्ण प्रदे शीय सदाबहार जङ्गलमा गर्मी र वर्षा यथेष्ट मात्रामा हुने हुँदा यहाँका रुखहरू अग्ला, मोटा, बलिया र सधैँ हरिया हुन्छन् । पूर्वदेखि पश्चिमसम्म समानान्तर रूपमा रहेको यो जङ्गल पहिले चार कोससम्म फैलिएकाले यसलाई चारकोसे झाडी पनि भनिन्छ । यहाँ साल, सिसौ, खयर, सिमल आदि प्रमुख वनस्पतिका साथै साँवे, ढड्डी, गाँज पनि पाइन्छन् । यस जङ्गलमा हात्ती, गैँडा, बाघ, भालु, मृग आदि वन्यजन्तु पाइने हुँदा यो क्षेत्र आर्थिक तथा जैविक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ ।
(ख) समशीतोष्ण पतझर जङ्गल -नेपालमा १,२०० मिटरदेखि २,१०० मिटरसम्मको उचाइसम्म चुरे पहाडको माथिल्लो भाग, मध्यभाग र महाभारत पर्वतको तल्लो भागको समशीतोष्ण पतझर जङ्गलमा पाइने रुख अग्ला र मोटा हुन्छन् । तल्लो भाग सघन छायादार भए पनि माथिल्लो भाग चिसो हुनुका साथै तुसारो पर्ने भएकाले अधिकांश पातपतिङ्गर झर्ने हुँदा यो वन शृङ्खलालाई पतझर भनिएको हो । उच्च भागमा केही मात्रामा पतझर र कोणधारी रुखहरूको मिश्रित जङ्गल पाइन्छ । यहाँ पाइने कडा र नरम जातका सदाबहार, पतझर र कोणधारी रुखमध्ये साल, सल्ला, देवदारु, कटुस, ओखर, गुराँस, पिपल, चिलाउने, वर, बाँस, सिमल, उत्तिस, पलाँस, लाकुरी, चाँप प्रमुख छन् । यस्तो वन उष्णप्रदेशीय सदाबहार जङ्गलभन्दा कम गुणस्तरको मानिन्छ ।
(ग) समशीतोष्ण सदाबहार कोणधारी जङ्गल -महाभारत पर्वतको माथिल्लो भाग तथा हिमालय पर्वतको तल्लो भागमा २,१०१ मिटरदेखि ३,३५० मिटरसम्मको उचाइमा कोणधारी जङ्गल पाइन्छ । यहाँ वर्षैभरि चिसो हुने र हिमपात भइरहने हुँदा रुख र रुखका पातहरू कोणजस्तै चुच्चो परे का हुन्छन् । यहाँको माटो से पिलो हुने हुँदा सदाबहार जङ्गल हुन्छ । यहाँ मझौला नरम जातका रुख पाइने र यसमा पनि चाँप, सल्ला, देवदारु, कटुस, धुपी, सिमल, चिलाउने, बेतबाँस, उत्तिस, बाँस, गुँरास, भोजपत्र आदि उल्लेख्य मात्रामा रहेका छन् ।
(घ) लेकाली वनस्पति वा घा“से मैदान – नेपालमा ३,३५१ मिटरदेखि ५,००० मिटरसम्मको उचाइमा कम तापक्रम र कम वर्षा हुने पहाडी तथा तल्लो हिमाली क्षेत्रमा पाइने वनस्पतिलाई लेकाली वनस्पति भनिन्छ । यो उचाइमा चिसो र शुष्क जलवायु पाइने हुँदा यहाँ अग्ला, मोटा र कडा जातका रुखहरू सप्रिन सक्दैनन् । लेकाली वनस्पतिमध्ये कम उचाइका गुराँस, निगाले र केही झाडीजस्ता रुखहरू ३,६०० मिटरसम्मको उचाइमा पाइन्छन् भने त्योभन्दा माथि घाँसका ठुलाठुला फाँटहरू पाइन्छन् । माथिल्लो भागमा रङ्गीबिरङ्गी बुकीफूल, जडीबुटीहरू पाइन्छन् ।
(ङ) शीत मरुभूमिको वनस्पति – नेपालमा ५,००० मिटरको उचाइभन्दा माथि हिउँ पर्ने हुँदा यहाँ वनस्पतिहरू उम्रिन नसक्ने भएकाले हिउँ नअडिने भिरालो ठाउँमा काई र लेउ मात्र पाइन्छन् । उम्रिन र हुर्कन नसक्ने यस्तो ठाउँमा उम्रेका लेउ र झ्याउलाई टुन्ड्रा वनस्पति वा शीत मरुभूमिको वनस्पति भनिन्छ । नेपाल परिचयबाट साभार
नेपालमा पाइने वनस्पतीको बारेमा छोटकरीमा
1. वनस्पतीका प्रकार- उष्ण प्रदेशीय सदावहार जंगल

पाइने उचाइ-१२०० मिटरसम्म
पाइने वनस्पति– साल, सिसौ, चाप, आँप, सिमल, पिपल, खयर आदि
पाइने वन्यजन्तु- पाटेबाघ, भालु, गैँडा, मृग, हात्ति आदि
२. वनस्पतीका प्रकार-समशितोष्ण पतझर जंगल
पाइने उचाइ-१२०१ देखि २१०० मिटर सम्म
पाइने वनस्पति– सल्ला, देवदारु, चाँप, कटुस, ओखर, गुँरास, चिलाउने आदि
पाइने वन्यजन्तु-बाघ, चितुवा, मृग, हरिण, बनेल आदि
३. वनस्पतीका प्रकार-समशितोष्ण सदावहार कोणधारी जंगल

पाइने उचाइ- २१०१ देखि ३३५० मिटर सम्म
पाइने वनस्पति बेतबाँस, बाँस, उत्तिस, भोजपत्र, धुँपी आदि
पाइने वन्यजन्तु- हरिण, मृग, घोरल, नाउर, डाँफे, मुनाल, च्याखुरा आदि
४. वनस्पतीका प्रकार-लेकाली वनस्पती वा घाँसे मैदान
पाइने उचाइ- ३३५१ देखि ५००० मिटर सम्म
पाइने वनस्पति-गुँरास, निगालो, झाडी वनस्पती
पाइने वन्यजन्तु-हाब्रे, डाँफे, मुनाल, हिउँ चितुवा, मृग आदि
५. वनस्पतीका प्रकार-टुन्ड्रा वा शीत मरुभूमीको जंगल
पाइने उचाइ- ५००१ देखि ८८४८.८६ मिटर
पाइने वनस्पति– काई, लेउ जस्ता अत्न्तै स–साना वोटविरुवाहरु
पाइने वन्यजन्तु-हिउँ चितुवा, हिमाली मृग, पुतली आदि
नेपालमा पाइने वनस्पती
तयार पार्ने लक्ष्मीप्रसाद जोशी
















































