नदीको आधारमा नेपालको विभाजन
(क) कोशी क्षेत्र
पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लाङटाङ हिमाल (गोसाइँस्थान) बीचको भागलाई कोशी नदी प्रणाली क्षेत्र भनिन्छ । यो हिमाली पूर्वगामी नदी (antecedent river) हो । तमोर, अरुण, लिखु, दूधकोशी, तामाकोशी, सुनकोशी र इन्द्रावती मिलेर सप्तकोशी नदी बनेको छ । यो नेपालको सबैभन्दा ठुलो नदी हो । यो नदीको कुल ७२० कि.मि. मध्ये २०० कि.मि. नेपालमा पर्दछ । लामो हुनुका साथै जलप्रवाह क्षमता औसत १,५०० (चतरा) क्युबिक मिटर प्रतिसेकेन्ड रहेको छ । यस नदीबाट २२,००० मेगावाटसम्म विद्युत् निकाल्न सकिने अनुमान गरिएको छ । नेपालको कोशी नदी प्रणालीको प्रभाव क्षेत्र ३१,६०० वर्षसम्म छ (बज्राचार्य र अन्य २००७) । कोशी प्रदे शको प्रभाव क्षेत्र झन्डै ६० हजार वर्ग कि.मि. रहेको छ । सप्तकोशी नदीको सबैभन्दा ठुलो सहायक नदी अरुण हो भने सबैभन्दा सानो नदी लिखु हो ।
(ख) गण्डकी क्षेत्र
पूर्वमा लाङटाङ हिमालदेखि पश्चिममा धवलागिरि हिमालसम्मको गण्डकी नदी प्रभावित क्षेत्रलाई गण्डकी प्रदेश भनिन्छ । गण्डकी नदीका सात प्रमुख सहायक नदीहरू त्रिशूली, बुढीगण्डकी, दरौँदी, मादी, मस्र्याङ्दी, सेती र कालीगण्डकी हुन् । गाण्डव ऋषिको नामबाट नामकरण गरिएको मानिएको यस नदीलाई चितवन जिल्लामा आएपछि (देवघाटभन्दा तल) नारायणी नदीको नामले चिनिन्छ । यो नदी नेपालको करिब मध्यभागमा उत्तर–दक्षिण भएर बग्दछ । जसको प्रवाह क्षेत्र ३३,००० वर्ग कि.मि. भन्दा बढी रहेको छ । करिब ३३८ कि.मि. लामो यस नदीको विद्युत् क्षमता करिब २१,००० मे.वा. रहेको मानिएको छ । यसका सहायक नदीहरूमध्ये कालीगण्डकी सबैभन्दा ठुलो र दरौँदी सबैभन्दा सानो हो । नेपालको सबैभन्दा गहिरो यो नदीले प्रतिसेकेन्ड औसत १,७१३ क्यु.मि. पानी प्रवाह गर्दछ ।
(ग) कर्णाली क्षेत्र
पूर्वमा धवलागिरि हिमालदेखि पश्चिममा व्यास हिमालबीचको भू–भागलाई कर्णाली नदी प्रभावित क्षेत्रलाई कर्णाली प्रदेश भनिन्छ । कर्णाली नदीका सात प्रमुख सहायक नदीहरू हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानी भेरी, तिला, बुढीगङ्गा र सेती नदी हुन् । यसलाई नेपालको सबैभन्दा लामो नदी पनि भनिन्छ । यो नदी भारतमा पुगेपछि घाघँरा र सरयू नामले समेत चिनिन्छ । यो नदी करिब ४२,००० वर्ग.कि.मि. क्षेत्रफल समेटेर बग्दछ । नेपालभित्र करिब ५०७ कि.मि. लामो यस नदीको विद्युत् उत्पादन क्षमता ३२,००० मे.वा. रहेको मानिएको छ । यो नदीको औसत जलप्रवाह क्षमता प्रतिसेकेन्ड १,३१६ क्यु.मि. रहेको छ ।





